चिउरा, किनामा र हुल्मा मेलाः बाल्यकाल फर्काउने एउटा सम्झना

हुल्मा मेला, मंसिरे धानको चिउरा, साथी गोरे, भोक, र किनामाको मेरो सम्झना वि.स. २०४७ सालतिर हुनुपर्छ, म त्यतिबेला ७, ८ वर्षको मात्र हुदोँ हुँ । उदयपुर जिल्लाको पोखरी गा.वि.स. मा पर्ने वर्षमा एकपटक मात्र मंसिर पौष महिनामा लाग्ने हुल्मा मेलामा म, आपा, र आमा ३ दिनको बाटो हिडेर गएका थियौँ । ठ्याक्कै थाहा भएन तर त्यतिबेला मैले झण्डै ८ माना जति चामल (बाटोमा खाना खान) घरबाट बोकेर मेला पुगेको थिएँ अरे । मेला जाने भए पछि म पनि हौसिएको हुनुपर्छ । नत्र त्यत्रो बच्चाले गाउँको त्यस्तो अप्ठ्यारो बाटोमा त्यत्रो करिब ४ किलो ३ दिनसम्म बोकेर हिड्नसक्ने थिएन ।


हामीले बीच बाटोमा खाना पकाएर खाएको अनि घरी उकालो, घरी ओरालो त घरी तेस्रो बाटोमा अनि घरी जंगलको बाटो घरी ठाउँठाउँमा रसुवा खोला तर्दै हिडेको याद छ । घरबाट हिडेको दोस्रो दिन हुनुपर्छ हामी पोखरी गा.वि.स.को एउटा गाउँमा पुगेका थियौँ । बिहानपख थियो हिड्दाहिड्दा एकदमै भोक लागेको थियो । हामी पानी भेटिने ठाउँमा पुगेर भात पकाएर खाने भनेर कुवा, धारा आदिको मुहान हेर्दै हिड्दै थियौँ । पेटमा भने एकदमै भोक लागेको थियो । यतिकैमा त्यो गाउँभन्दा अलिकता माथि डाँडाँमा पुगेपछि जंगलको बीचमा एउटा सानो पोखरी (कुवाभन्दा अलिकति ठूलो आकारको) भेटियो । पोखरीको पानी सफा थियो । सायद त्यही पोखरीको नामबाट त्यो गाउँको नाम पनि पोखरी पो राखेको हो कि । थाहा भएन । हामीले त्यही पोखरीको पानी पियौँ । आपाले तीनओटा ढुङ्गाको तीनचुला बनायो, जँगलबाट हामीले दाउरा ल्यायौँ अनि आमाले मैले बोकेको चामलको भात पकायो (त्यतीबेला आफूभन्दा ठूलालाई पनि हामी ‘तिमी’ नै भन्थ्यौँ) । तरकारीचाहिँ भटमास उसिनेर कुवाएर बनाएको हाम्रो एकदमै फेबरेट तिहुन (तरकारी) किनामा थियो । किनामा आज पनि साह्रै मीठो लाग्छ । हिडाई, भोक, चामलको भात (हामी भात नै भन्थ्यौँ), अनि किनामाको तिहुन पाएपछि के चाहियो । पकाएर भकाभक खाएपछि हामी फेरि अगाडि बड्यौँ । त्यहाँबाट अगाडिको यात्रा (बजार पुग्नभन्दा अगाडिसम्म) के कस्तो भयो भन्नेचाहिँ अहिले ठ्याक्कै सम्झन सकिएन । तर कुनैकुनै छोटोछोटो झझल्को भने छ जुन यहाँ लेख्न आवश्यक ठानिँन । कुन दिन, कतिबेला हामी हुल्मा बजार पुग्यौ त्यो पनि बिर्सिएँ तर बजारको मुख्यमुख्य झझल्को भने याद छ ।


बजार रसुवा खोला हो कि हुल्मा खोलाको उत्तरतर्फ रहेको खेतमा लाग्दो रहेछ । भर्खरै मंसिरे धान काटेको हो क्यार । खेतमा धान काटेको नयाँ फेदहरु थियो । तराईतिरबाट र स्थानीय व्यापारीहरूले दोकान (आजकाल स्टल भनेको जस्तो) राख्दो रहेछ । खेतमा किला गाडेर माथिबाट स्याउँलाले छाएर खेतको भित्तामा लहरै बनाएको दोकानमा विभिन्नखाले सामानहरू बिक्री गरिरहेका थिए । त्यहाँ जुवाखाल पनि थिए । मान्छेहरूले छाति ठोक्दै “मारा” भन्दै हल्ला गर्दै जुवा हानेको रमिता मैले हेरेको थिएँ । तास पनि खेलिरहेका थिए क्यार । आपाले तास र जुवामा च्याँखे थापेको हो क्यार । म पछिपछि गएको जस्तो लाग्छ । अन्य व्यापारीहरू कोही चिउरा, कोही दही, बंगरको मासु आदि बेचिरहेका थिए । त्यहाँ तराईतिरबाट बेच्न ल्याएको रँगीचँगी ब्यालुनहरू पनि थिएँ । मैले केही किनेर खेलाएको याद छ । ब्यालुन मलाई धेरै मन पर्ने । भुतुक्कै हुन्थेँ म । त्यतिबेला खासमा हामी ब्यालुनलाई कि भकुण्डो कि साफु भन्थ्यौँ क्यार । त्यहाँ चिठ्ठा खेलाउँने ठाउँ पनि थियो । मैले खेलिन पैसा र हिम्मत नभएकोले । म सानै थिएँ । त्यहाँ ठूलोठूलो आवाजमा “हाम्रो जुगको पानी मीठो…भन्ने गीत जतिबेला पनि बाँसको लिङ्गो गाडेर त्यसको माथि टुप्पामा बाँधेर राखेको माईक (स्पीकरलाई माईक भन्थ्यो त्यतातिर) बाट कानको जाली फुट्नेगरी घन्केकोघन्केकै । त्यतिबेलाको चर्चित गीत हुनुपर्छ त्यो । तर त्यो गीत साह्रै मन पर्ने मलाईँ । अहिले पनि मन पर्छ र सुन्दा त्यो हुल्मा बजारको झझल्को याद पो आउँछ ।


मेलामा आपा आमाले चिउरा बेच्थ्यो । हामी वास्तवमा त्यहाँ घुम्नभन्दा पनि चिउँरा बेच्न गएका थियौँ । हामीले राउत गाउँबाट मँसिरे चामल किनेर ल्याई उसिनेर रातभर ढिकीमा कुटेर चिउरा बनाएका थियौँ । घर फर्किदा बाटोमा जस्तो लाग्छ कि घरमा आइपुगेर हो कुन्नि चिउरा बेचेर हामीले ८०० रुपैयाँ कमाएको थियौँ अरे । आमा धेरै खुशी भएको थियो । म पनि मनमनै खुशी ।
मेला पुगेको दोस्रो दिन हुनुपर्छ मेरो मिल्ने साथी गोरे (एकराज हो नाम खासमा, तर त्यतिबेला उसको नाम “गोरे” नै थियो हाम्रो लागि) पनि तप्पासँग मेला आईपुग्यो । ऊ खासमा मेरो तिप्पापटिको भतिज हो । तर मभन्दा केही महिनाले जेठो पनि । साथी आएपछि अरु के चाहियो । म झन खुशीले पागल । गोरे र म मेला लागेको खेतभरी खेलेको अनि ब्यालुन उडाएको याद छ । तिप्पाचाहिँ खासमा जुवा खेल्न गएको । तिप्पाले जुवामा जित्यो वा हा¥यो त्योचाहिँ थाहा भएन । बूढा जुवा खेल्न खप्पिस । रिन खोजेर भए पनि तिप्पा जुवा खेल्न जाने । तिप्पा एकपटक त्रिवेणी भन्ने ठाउँमा जुवा खेल्न गएको मलाई याद छ । अनि हारेर फर्केको अरे भन्ने पनि मैले थाहा पाएको । रिन तिर्नको लागि चामदाइलाई जिउनी खेत नै तिप्पाले बेचेको अरे ।


हुल्मा बजारमा भातचाहिँ आफैले दाउरा खोजेर खोलाको पानीमा पकाएर खानुपर्ने । दाउरा पाउँन एकदमै गाह्रो । दिसा गर्ने ठाउँको पनि बिजोग । खोलाको छेउछाउमा भएको सानोतिनो झाडिमा लुकेर हतारहतार गर्नुपर्ने । हामीले त्यसै ग¥यौँ । तेस्रो दिन जस्तो लाग्छ हामीले चिउराहरु बेचिसकेछौँ । हामी बिहानै घरको बाटो लाग्यौँ । हामीसँग कटहरे गाउँतिरको चिनजानको अन्य मान्छेहरु पनि थिए जस्तो लाग्छ । रसुवा खोला तरेर अलिकति उकालो चडेपछि भात खाने कुरो भएछ । खेत नजिकै रहेको एउटा खोल्मा (गाईबस्तु पाल्न र सामानहरु राख्न बनाइएको सामान्य घर) मा हामी बस्यो । तर कुरो गर्दै जाँदा त हामी कसैसँग पनि चामलसामल केही रहेनछ, पछि आमाले भनेको । धेरै थोरैचाहिँ थियो क्यार । तरकारी पनि नभएको । त्यसपछि हाम्रो योजनाअनुसार तल खोलापारी देखिएको सिस्नु पकाएर खाने भन्ने भएछ । अनि आपा हो कि आमा हो कि वा अरु नै कोही त्यो सिस्नु टिप्न गएको याद छ । हामीले त्यतिबेला त्यो सिस्नु पकाएर खाएका थियौँ अरे, आमाले भनेको पछिबाट किनभने मैलेचाहिँ त्यहाँ सिस्नु पकाएर खाएको क्षणचाहिँ बिर्सिँएछु तर टिप्न गएको क्षणचाहिँ मानसपटलमा ताजा छ । त्यसपछि हामी कहिले कसरी घर आइपुग्यौँ थाहै भएन । सबै बिर्सिएछु । मेरो बाल्यकालको एउटा रमाईलो सम्झना ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top