अप्सराको चितवन मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन सकिएपछि पूनः तानसेन स्वास्थ्य विज्ञान शिक्षालयमा कार्यालयले दिएको जिम्मेवारी बहन गर्नको लागि हामी सपरिवार मे १७, २०२४ को दिन काठमाण्डौबाट मोटरसाईकलमा तानसेनतर्फ लाग्यौँ । हामीले बिहान ७ बजेतिर नै काडमाण्डौबाट यात्रा सुरु गर्यौँ । लामो यात्रा गाह्रो हुने भएकोले प्रत्येक २० किलोमिटर गुडेपछि बिसाउने गर्यौँ। यसो गर्दा गन्तव्यमा ढिलो पुगिने त भईहाल्यो । हामी करिब १२ बजेतिर नारायणगड आईपुग्यौँ ।
नारायणगडदेखि बुटवलसम्मको बाटोको अवस्था एकदमै खराब भएकोले कालीगण्डकी राजमार्ग कालीगण्डकी करिडोर हुदैँ रामपुर निक्लेर तानसेन जाने योजना बन्यो । किनभने छोरीलाई अति असर गर्ने थियो बुटवलको बाटोको धुलोले । योजना त बन्यो तर बाटो कस्तो के छ राम्रोसँग थाहा थिएन । अन्य मानिसहरूबाट राम्रै छ भन्ने अपूष्ट सूचना मात्र सुनेका थियौँ । त्यसले गर्दा केही क्षण दोधार पनि भयो यो बाटो जाने कि नजाने भनेर । यसैक्रममा नवलपरासीको कालीगण्डकी चोक भन्दो रहेछ जहाँबाट यो राजमार्ग सुरु हुन्छ । त्यही चोकमा आएर एउटा पसलमा चिसो खायौँ र बाटोको अवस्थाबारे सोध्यौँ । बाटोको अवस्था राम्रो भएको तर केहीकेही ठाउँमा मात्र हल्का ग्राभेल गरिएको छ भन्ने सूचना पायौँ । हामीले यहीँ बाटो भएर जाने निर्णय गर्यौँ । यो समयसम्म दिउँसोको २ बजिसकेको थियो ।
यात्रा सुरुगर्यौँ । उताको बाटोको तुलनामा यो बाटो त फिलिलि । २ किलोमिटर जति सम्म परेको बाटो गुडेपछि उकालो डाँडाँ लाग्नुपर्ने रहेछ जंगलको बाटो । दायाँबाँया हरियाली रूख, बोटबिरुवा भएको जंगलभित्र चिल्लो कालो पीचमा हिडदा त कम्ता रमाईलो भएन । यो बाटोबाट यात्रा गर्नेचाहिँ कमै हुने रहेछ । जंगलमा सुनसान । घरिघरि त डरडर पनि लाग्यो । जंगलको बाटो कटेपछि एउटा गाउँ आयो । गाउँपछि फेरि जंगलको बाटो । यसो हुँदै करिब १५, २० किलोमिटर हिडेपछि हामी माथि डाँडाँको थुम्को पुगेछौँ । यसो तलतिर हेरेको त हरियो कालीगण्डकी नदी सलललल आफ्नै सुरमा बगिरहेको रहेछ । मलाई त हामी तानसेन नै पुगिसक्यौँ जस्तो भान भयो किनकि यो नदीलाई माथि रानीघाटमा अवस्थित रानीमहल घुम्न जाँदा अगाडि नै भेटिसकेको थिएँ ।
डाँडाँको माथिबाट हल्का घुमाउँरो बाटो हुदै केही तल झर्नुपर्ने रहेछ । हामी झन नदीको नजिक आयौँ । तल झर्दै गर्दा एउटा खोलाको पुल तर्नुपर्ने । त्यही पुल झर्नेबेलाचाहिँ बाटो अति खत्तम । पुरै रफ । त्यहीमाथि यत्रायत्रा डल्लो ढुङ्गाहरू यत्रतत्र छरिएका । यो देखेर ब्रिस्लिन र अप्सरा कराउन थाल्यो हामी झर्छौँ कि झर्छौँ भनेर ।
“लडिन्छ के, हामी झर्छौँ” “बाबा रोक्नु न…” भन्दै आमाछोरी कराएको कराएकै ।
म भने उनीहरूको कुरा नसुनी नमानी पूरा कम्फिडेन्ससाथ बिस्तारै बाईकको ह्यान्डिल कन्ट्रोल गर्दै ढुङ्गाहरूलाई यताउती छल्दै अगाडि बढिरहेँ । तर अलिकति अगाढि बढेपछि लास्टै गाह्रो भयो । बाईकको अगाडिको टाएर डल्लो चिल्लो ढुङ्गामा ठेस खाएर देब्रेतर्फ धकेलिएर फेरि दाँयातर्फ धकेलिन पुग्यो । म भने कन्ट्रोल गर्नलाई बच्चा बेलादेखिको बल लगाउँदै थिएँ । बाईक कोल्टे परिहाल्यो र पनि सोझो पार्न बल लगाएँ तर पछाडि पनि डबल मान्छे भएको कारण अत्ति वजनदार बाइकलाई सिधा पार्न सकिएन । छोडिदिएँ । बाटोको बीचमै हामी लड््यौँ । मैले हात मात्र टेकेँ भुईँमा । ब्रिस्लिन र अप्सरा पनि धेरै सारो त लडेन । हातमा चोट लाग्यो कि भनेको लागेन छ । किनभने यस्तो बेला हातले भुईँमा टेकिने हुँदा हातको हत्केलामा चोट लाग्ने सम्भावना प्रबल हुन्छ । प्रभुलाई धन्यवाद केही भएन । फेरि बाईक उठाएर अघि बढियो । तल पुलसम्म भने अप्सरा र ब्रिस्लिन हिढेर झरे । तल पुलबाट बाईक चढेर अगाढि बढयौँ हुरुरु ।
हामी कालीगण्डकीको करिडोर हुँदै अगाडि बढयौँ । लगभग बाटोको आधा भाग जति पुगेपछि त डेन्जर भीरहरू पनि भेटिएँ । २ ओटा भीर त साह्रै डरलाग्दो । माथि हेर्यो बढेमानको छाँगो जस्तो भीर । अहिले नै ढुङ्गा प्वाक्कै टाउकोमै खस्ला जस्तो । तल हेरे पनि भीर अनि कालीगण्डकी आफ्नै तालमा बगिरहेको । बाटो वान वे र रफ । भीरमा पुगेपछि अप्सरा र ब्रिस्लिन फेरि कराउन थालिहाले हामी झरेर हिडछौँ भनेर । म मानिन । तर कराएको कराएकै । एउटा भीरमाचाहिँ हिढेर पार गर्न झारिदिएँ । म पछिपछि उनीहरू अघिअघि । यसो माथितिर हेरेको ओहो ! भीर त बढेमानको ।
“हेल्मेट लगाऊ” ठूलो र आत्तिएको आवाजमा म कराएँ ।
“लाउँदिन” ठूलै आवाजमा अप्सरा कराई ।
अप्सरा र ब्रिस्लिन एकअर्काको हात समाएर ठुईँठुईँ अगाडि हिड्यो ।
म पछिपछि बिस्तारै बाईकमा । मनमनै प्रभुसँग प्रार्थना गरेँ ।
त्यसपछि पर पुगेपछि बाईकमा चढेर हामी अघि बढयौँ ।
बाटो कतैकतै मात्र रफ । खोला झर्ने बेला मात्र बाटो रफ । खोलाचाहिँ धेरै । खोला झर्यो । पुल तर्यो । अनि उकालो चढेर सम्म परेको गाउँ निस्क्यो । सम्म परेको गावैगाउँ करिब २, ३ किलोमिटर हिडेपछि फेरि खोला झर्नुपर्ने । यस्तो त कतिकति । घुमाउँरो बाटो धेरै तर नारायणगड बुटवलको बाटो अवस्था र धुलोको तुलनामा त यो बाटो स्वर्ग नै हो ।
हामी बीचबीचमा बिसाउँदै गयौँ । सोचेकोभन्दा चाँढो हामी पाल्पा रामपुर आईपुग्यौँ । तर बेलुकाको ५ बसिकेको थियो रामपुर आईपुग्दा । त्यसपछि हामी हतारहतार अघि बढयौँ । पिपलडाँडाँमा निस्किने रहेछ जहाँ तानसेनदेखि पोखरा जाने सिदार्थ राजमार्ग भेटिन्छ । पिपलडाँडाँबाट तानसेन त्यस्तै २० किलोमिटर जति छ । त्यहाँ आईपुग्दा झमक्क रात परिसकेको थियो । करिब ६ बजे बेलुका । पिपलडाँडाँभन्दा अलिक तल जहाँ सिदार्थ राजमार्ग भेटिन्छ । त्यही दोबाटोमा केही क्षण बिसाएर हामी उकालो लाग्यौँ । यो बाटोमाचाहिँ अलिक भिडभाड थियो सवारीसाधनको । छल्दै अघि बढयौँ ।
घर पुग्दा ९ बज्ने भएकोले बाटोमै खाना खाने निधो गर्यौँ। आर्यभञ्ज्याङमा आईपुगेर खाना खायौँ । त्यहाँ आईपुग्दा ७ बजिसकेको थियो । खानासाना खाँदा ८ बजिहाल्यो । त्यसपछि हामी खुल्ला र सुनसान बाटोमा सररर हिड्यौँ । तानसेन आईपुग्दा ठ्याक्कै ९ बजिसकेको थियो । घरमा आएर हातमुख धोइवरी आराम गर्यौँ ।
आजको यात्रा सफल र आशिषमय भयो ।