काठमाण्डौँबाट तानसेनसम्म बाईकमा सरर

अप्सराको चितवन मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन सकिएपछि पूनः तानसेन स्वास्थ्य विज्ञान शिक्षालयमा कार्यालयले दिएको जिम्मेवारी बहन गर्नको लागि हामी सपरिवार मे १७, २०२४ को दिन काठमाण्डौबाट मोटरसाईकलमा तानसेनतर्फ लाग्यौँ । हामीले बिहान ७ बजेतिर नै काडमाण्डौबाट यात्रा सुरु गर्यौँ । लामो यात्रा गाह्रो हुने भएकोले प्रत्येक २० किलोमिटर गुडेपछि बिसाउने गर्यौँ। यसो गर्दा गन्तव्यमा ढिलो पुगिने त भईहाल्यो । हामी करिब १२ बजेतिर नारायणगड आईपुग्यौँ ।

नारायणगडदेखि बुटवलसम्मको बाटोको अवस्था एकदमै खराब भएकोले कालीगण्डकी राजमार्ग कालीगण्डकी करिडोर हुदैँ रामपुर निक्लेर तानसेन जाने योजना बन्यो । किनभने छोरीलाई अति असर गर्ने थियो बुटवलको बाटोको धुलोले । योजना त बन्यो तर बाटो कस्तो के छ राम्रोसँग थाहा थिएन । अन्य मानिसहरूबाट राम्रै छ भन्ने अपूष्ट सूचना मात्र सुनेका थियौँ । त्यसले गर्दा केही क्षण दोधार पनि भयो यो बाटो जाने कि नजाने भनेर । यसैक्रममा नवलपरासीको कालीगण्डकी चोक भन्दो रहेछ जहाँबाट यो राजमार्ग सुरु हुन्छ । त्यही चोकमा आएर एउटा पसलमा चिसो खायौँ र बाटोको अवस्थाबारे सोध्यौँ । बाटोको अवस्था राम्रो भएको तर केहीकेही ठाउँमा मात्र हल्का ग्राभेल गरिएको छ भन्ने सूचना पायौँ । हामीले यहीँ बाटो भएर जाने निर्णय गर्यौँ । यो समयसम्म दिउँसोको २ बजिसकेको थियो ।  

यात्रा सुरुगर्यौँ । उताको बाटोको तुलनामा यो बाटो त फिलिलि । २ किलोमिटर जति सम्म परेको बाटो गुडेपछि उकालो डाँडाँ लाग्नुपर्ने रहेछ जंगलको बाटो । दायाँबाँया हरियाली रूख, बोटबिरुवा भएको जंगलभित्र चिल्लो कालो पीचमा हिडदा त कम्ता रमाईलो भएन । यो बाटोबाट यात्रा गर्नेचाहिँ कमै हुने रहेछ । जंगलमा सुनसान । घरिघरि त डरडर पनि लाग्यो । जंगलको बाटो कटेपछि एउटा गाउँ आयो । गाउँपछि फेरि जंगलको बाटो । यसो हुँदै करिब १५, २० किलोमिटर हिडेपछि हामी माथि डाँडाँको थुम्को पुगेछौँ । यसो तलतिर हेरेको त हरियो कालीगण्डकी नदी सलललल आफ्नै सुरमा बगिरहेको रहेछ । मलाई त हामी तानसेन नै पुगिसक्यौँ जस्तो भान भयो किनकि यो नदीलाई माथि रानीघाटमा अवस्थित रानीमहल घुम्न जाँदा अगाडि नै भेटिसकेको थिएँ । 

डाँडाँको माथिबाट हल्का घुमाउँरो बाटो हुदै केही तल झर्नुपर्ने रहेछ । हामी झन नदीको नजिक आयौँ । तल झर्दै गर्दा एउटा खोलाको पुल तर्नुपर्ने । त्यही पुल झर्नेबेलाचाहिँ बाटो अति खत्तम । पुरै रफ । त्यहीमाथि यत्रायत्रा डल्लो ढुङ्गाहरू यत्रतत्र छरिएका । यो देखेर ब्रिस्लिन र अप्सरा कराउन थाल्यो हामी झर्छौँ कि झर्छौँ भनेर । 

“लडिन्छ के, हामी झर्छौँ” “बाबा रोक्नु न…” भन्दै आमाछोरी कराएको कराएकै । 

म भने उनीहरूको कुरा नसुनी नमानी पूरा कम्फिडेन्ससाथ बिस्तारै बाईकको ह्यान्डिल कन्ट्रोल गर्दै ढुङ्गाहरूलाई यताउती छल्दै अगाडि बढिरहेँ । तर अलिकति अगाढि बढेपछि लास्टै गाह्रो भयो । बाईकको अगाडिको टाएर डल्लो चिल्लो ढुङ्गामा ठेस खाएर देब्रेतर्फ धकेलिएर फेरि दाँयातर्फ धकेलिन पुग्यो । म भने कन्ट्रोल गर्नलाई बच्चा बेलादेखिको बल लगाउँदै थिएँ । बाईक कोल्टे परिहाल्यो र पनि सोझो पार्न बल लगाएँ तर पछाडि पनि डबल मान्छे भएको कारण अत्ति वजनदार बाइकलाई सिधा पार्न सकिएन । छोडिदिएँ । बाटोको बीचमै हामी लड््यौँ । मैले हात मात्र टेकेँ भुईँमा । ब्रिस्लिन र अप्सरा पनि धेरै सारो त लडेन । हातमा चोट लाग्यो कि भनेको लागेन छ । किनभने यस्तो बेला हातले भुईँमा टेकिने हुँदा हातको हत्केलामा चोट लाग्ने सम्भावना प्रबल हुन्छ । प्रभुलाई धन्यवाद केही भएन । फेरि बाईक उठाएर अघि बढियो । तल पुलसम्म भने अप्सरा र ब्रिस्लिन हिढेर झरे । तल पुलबाट बाईक चढेर अगाढि बढयौँ हुरुरु । 

हामी कालीगण्डकीको करिडोर हुँदै अगाडि बढयौँ । लगभग बाटोको आधा भाग जति पुगेपछि त डेन्जर भीरहरू पनि भेटिएँ । २ ओटा भीर त साह्रै डरलाग्दो । माथि हेर्यो  बढेमानको छाँगो जस्तो भीर । अहिले नै ढुङ्गा प्वाक्कै टाउकोमै खस्ला जस्तो । तल हेरे पनि भीर अनि कालीगण्डकी आफ्नै तालमा बगिरहेको । बाटो वान वे र रफ । भीरमा पुगेपछि अप्सरा र ब्रिस्लिन फेरि कराउन थालिहाले हामी झरेर हिडछौँ भनेर । म मानिन । तर कराएको कराएकै । एउटा भीरमाचाहिँ हिढेर पार गर्न झारिदिएँ । म पछिपछि उनीहरू अघिअघि । यसो माथितिर हेरेको  ओहो ! भीर त बढेमानको । 

“हेल्मेट लगाऊ” ठूलो र आत्तिएको आवाजमा म कराएँ । 

“लाउँदिन” ठूलै आवाजमा अप्सरा कराई ।

अप्सरा र ब्रिस्लिन एकअर्काको हात समाएर ठुईँठुईँ अगाडि हिड्यो ।

म पछिपछि बिस्तारै बाईकमा । मनमनै प्रभुसँग प्रार्थना गरेँ । 

त्यसपछि पर पुगेपछि बाईकमा चढेर हामी अघि बढयौँ । 

बाटो कतैकतै मात्र रफ । खोला झर्ने बेला मात्र बाटो रफ । खोलाचाहिँ धेरै । खोला झर्यो । पुल तर्यो  । अनि उकालो चढेर सम्म परेको गाउँ निस्क्यो । सम्म परेको गावैगाउँ करिब २, ३ किलोमिटर हिडेपछि फेरि खोला झर्नुपर्ने । यस्तो त कतिकति । घुमाउँरो बाटो धेरै तर नारायणगड बुटवलको बाटो अवस्था र धुलोको तुलनामा त यो बाटो स्वर्ग नै हो । 

हामी बीचबीचमा बिसाउँदै गयौँ । सोचेकोभन्दा चाँढो हामी पाल्पा रामपुर आईपुग्यौँ । तर बेलुकाको ५ बसिकेको थियो रामपुर आईपुग्दा । त्यसपछि हामी हतारहतार अघि बढयौँ । पिपलडाँडाँमा निस्किने रहेछ जहाँ तानसेनदेखि पोखरा जाने सिदार्थ राजमार्ग भेटिन्छ । पिपलडाँडाँबाट तानसेन त्यस्तै २० किलोमिटर जति छ । त्यहाँ आईपुग्दा झमक्क रात परिसकेको थियो । करिब ६ बजे बेलुका । पिपलडाँडाँभन्दा अलिक तल जहाँ सिदार्थ राजमार्ग भेटिन्छ । त्यही दोबाटोमा केही क्षण बिसाएर हामी उकालो लाग्यौँ । यो बाटोमाचाहिँ अलिक भिडभाड थियो सवारीसाधनको । छल्दै अघि बढयौँ । 

घर पुग्दा ९ बज्ने भएकोले बाटोमै खाना खाने निधो गर्यौँ। आर्यभञ्ज्याङमा आईपुगेर खाना खायौँ । त्यहाँ आईपुग्दा ७ बजिसकेको थियो । खानासाना खाँदा ८ बजिहाल्यो । त्यसपछि हामी खुल्ला र सुनसान बाटोमा सररर हिड्यौँ । तानसेन आईपुग्दा ठ्याक्कै ९ बजिसकेको थियो । घरमा आएर हातमुख धोइवरी आराम गर्यौँ । 

आजको यात्रा सफल र आशिषमय भयो । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top