त्रिशुलीमा डुबुल्की

जेष्ठको महिना काठमाण्डौमा गर्मी बढेको छ । यहाँको तापक्रम दिउँसो २२ डिग्रीसम्म हुने । घरभित्र त ठीकै हुन्छ । बाहिर त गर्मी नै हुन्छ । तर तराईँ जस्तो त होइन । तराईँमा त यतिबेला रोडको अलकत्रा नै पग्लिन्छ । यस्तो गर्मीमा त हामी उहिले सुनकोशी नदीमा खुब बाकटे पौडी हान्थ्यौँ । कमता मज्जा नहुने । यही गर्मीमा हामी कार्यालयबाट त्रिशुलीमा रयाफ्टिङ्ग जाने योजना बन्यो । 

शनिबारको बिहान सात बजे हामी त्रिशुली नदीतिर लाग्यौँ । सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, थानकोट, नाकढुङ्गा, नौबिसे, हुदैँ हामी अघि बढयौँ । सबै गरेर २५ जना हामी । सबै जना पुरुष मात्र । यो प्रकारको रयाफ्टिङ्ग जीवनमा पहिलो पटक गर्दै थिएँ म । म जति उत्सुक सायद कमै थिए अरू । सानोमा सुनकोशी नदीमा पौडी खेलेर, माछा मारेर अनि चेफा खेलाएर हुर्किएकोले पनि होला नदी, पौडी, पानी, डुङ्गा भनेपछि म हुरुक्कै हुने । बिहानको ११ बजेतिर मलेखुभन्दा अलिक पर सलाङ्गघाटनेर रहेको रिभर पार्क रिसोर्टमा पुग्यौँ । रयाफ्टिङ्ग सुविधा र खानाको लागि काठमाण्डौबाट नै बुक गरेका थियौँ । 

त्यहाँ करिब २ घण्टा जति समय बिताएर रयाफ्टिङ्गको लागि हामी नदीको अलिक तल्लो भेगतर्फ गयौँ । गाईडको छोटो निर्देशनपछि हाम्रो रयाफ्टिङ्ग सुरु भयो । तीन ओटा ठूलाठूला डुङ्गामा हामी चढयौँ । यस्तो डुङ्गा जीवनमा दोस्रो पटक स्पर्श गरेको मैले । चढनचाहिँ पहिलो पटक । म ७ वर्षजतिको हुँदा गाउँभन्दा मुनी बगेको सुनकोशीमा एकपटक छोएको थिएँ । चढन त पाईएन त्यतिबेला । आजको सयरमा म लास्टै उत्साहित थिएँ । 

डुङ्गाको सबभन्दा अगाढि म बसेँ बहाना लिएर । अरुबेलाभन्दा यो पटक नदीको बहाव ठूलो थियो । पानी धमिलो । वर्षा लागिसकेकोले पनि नदी ठूलो भईसकेको रहेछ । ठूलाठूला घागी बनिसकेको रहेछ । हाम्रो डुङ्गा हेलियो पानीमा । हामीपछि अरु दुईओटा पनि हेलियो । स्टप…फर्वड भनी गाईडले बारम्बार निर्देशन गर्दै थियो हामीलाई । ‘स्टप’ भनेको बहानाले नखियाई रोकिने र ‘फर्वड’ भनेपछिचाहिँ खियाउनुपर्ने रहेछ । राम्ररी पौडिने सीप भएकोले डर थिएन मलाईँ । उत्सुकताले ठूलोठूलो मुख उघारेर चिच्याउँदै थियौँ हामी सबैजना । एकैछिनमा हामी ठूलो घागीमा परयौँ । डुङ्गा नै घोप्टिएला जस्तो गरेर उफारयो । सबैजना मुख आँ गरेर चिच्यायौँ । म पनि मरिन्जेल चिच्याएँ मुख आँ गरेर । मुख आँ गरेकै बेला झन ठूलो घागीमा परिएछ । पानीले झ्याप्पै हान्यो मुखैमा । एक गाँस धमिलो पानी ग्वाम्मै मुखभरी छिरयो । स्वाट्टै घाटीबाट पेटमै छिरिहाल्यो । नाकबाट पनि छिरेछ । एकैचोटी सर्काउन र खोकी चल्न थाल्यो । बेस्सरी खोकेँ । अरु दुईजना साथीहरूले पनि ग्वाम्मै पानी खाएछ त्यतिबेला । उनीहरू पनि खोक्न थाले ख्वाँक्कख्वाँक्क । एकछिन खोकियो सबैजना अनि मर्नेगरी हाँसियो पनि । एकैछिनमा अर्को घागी आयो । त्यसमा झन रमाईलो । पहिलाभन्दा झन बढी उफार्यो । भिजेर चुर्लुम्मै । पानीचाहिँ खाइएन । यसरी उफार्ने घागीमा पो लास्टै मज्जा आउँदोरहेछ । 

सानोमा धेरैपटक चेफा खेलाए पनि यस्तो अनुभव  कहिल्यै गरेको थिईँन । यसरी ५ ओटा जति घागी पार गरेपछि सबभन्दा ठूलो घागी आउनेरहेछ । त्यहाँ प्रायजसो सबै डुङ्गा पल्टिने रहेछ । मान्छेलाई पनि एक मिनेट जति डुबाएर धेरै तल निकाल्दोरहेछ । त्यसैले ठयाक्कै त्यसको माथि हाम्रो डुङ्गा रोकेर पाखापाखा हिडेर जाने र घागीभन्दा तलबाट मात्र फेरि चढ्ने कुरो भयो । सबैजना ओर्लियौँ । 

एकजना गाईडलेचाहिँ आफ्नै जिम्मेवारीमा यदि कोही त्यो घागीमा हेलिने हो भने जाँदा हुन्छ भन्यो । म तम्सिहालेँ । पौडी खेल्न जानेको । सानोमा सुनकोशी पौडेर वारपार गरेको अनुभव र यत्रो वर्षपछि त्यसरी सुनकोशी जस्तै त्रिशुलीमा खेल्न पाउँदा म अत्ति नै उत्साहित । अरुचाहिँ डरायो । कोही पनि जान तयार भएन । लु त भनेर म र एकजना गाईड स्वात्तै हेलियो पानीमा । गाईड पछाडि म अगाडि । मलाईँ डरै नलागेकोचाहिँ होइन । खासमा अलिअलिचाहिँ डर लागिरहेको थियो । पानी र आगोसँग खेल्नु जिस्किनु हुन्न नानी भन्नुहुन्थ्यो आमाले म सानो छँदा । आमाको त्यो भनाईँ पनि सम्झेको थिएँ । अलिकता हेलिएपछि एउटा घागी आईहाल्यो । बेस्सरी उफार्यो । पहिलाभन्दा बढि उफार्यो । भण्डै पानीमा झरेको । यतिबेला दोस्रो चोटी पानी खाएँ फेरि । धमिलो पानी । ठवाँस्सै गन्हायो । डुङ्गाको डोरीलाई समातेको थिए एक हातले । मुखबाट छिरेको पानी घाटीबाट पेटतिर राम्ररी जान नपाईँ, राम्ररी खोक्न पनि नपाईँ अर्को मुख्य घागीमा झ्वाप्पै परिहालिएछ । हाम्रो डुङ्गा हवात्तै माथि हावामा उचालियो । हावामा उचालिदा म पनि हावामा उडेँ । हातले भने डुङ्गाको डोरी छोडिन । बेस्सरी समातिरहेँ । हात नै दुख्यो । झण्डै खुस्किएको पनि । गाईडले डोरी नछोडन सिकाएको थियो । त्यसरी डोरी समातेको बेला हावा उडदा मेरो टाउको तलतिर अनि खुटटाचाहिँ आकाशतिर ठाडो परेछ । त्यसपछि त सात्तोपुत्लो उडिहाल्यो । एकैछिनमा झ्वाम्म तल गुचुल्टो परेको पानीमा खस्यौँ हामी । हाम्रो डुङ्गा त्यही घागीमै अडकियो । झल्टयाङ्गझल्टयाङ्ग पारेकोपारै । घरि दायाँ घरि बायाँ घरि तलतिर घरि माथितिर पारेकोपारै । ५ मिनेट जति त्यहीँ अडकियौँ । म घरि डुङ्गाभित्र त घरि बाहिर । १० पटक जति गेरेर १ लिटर जति त धमिलो पानी पनि खाएँ । म थाकेर लखतरान भईसकेको थिएँ । डोरीमा हात रगटिएर हात रातो भैसकेको थियो । दुख्न थालेको थियो । आँखा तिरिमिरि भयो । कसैलाई देखिन पनि । गाईड पनि कता छ वास्तै भएन । देखिन । वारि नदी किनारमा भने साथीहरूले कराईरहेका रहेछन् । हुटिङ्ग पो लगाईरहेका रहेछन् । उनीहरूलाई खुब मज्जा भएछ । म भने कराउँन चिच्याउन सकिन । हाँस्न पनि सकिन । एकोहोरो डुङ्गा सङ्गसङ्गै उफ्रेकोछउफ्रेकोछ । एकछि त मरिन्छ कि के हो जस्तो पनि भयो । मुटु चिसो भयो । केही क्षणमा डुङ्गा घवाप्पै घोप्टियो । म डुङ्गाको मुनि परेँ । डुङ्गाले थिच्यो मलाईँ । फेरि पानी छिरयो मुख र नाकबाट । अत्तालिएको बेला पानी खाईन्छ भन्ने मलाईँ सुनकोशी नदीमा पौडी खेल्दा नै थाहा थियो । अब भने मेरो हातले डोरी छोडयो । समात्नै सकेन । खुस्किहाल्यो । मलाईँ पानीले एकछिन त्यहीँ अडकाईरह्यो अघि नै डुङ्गालाई जस्तै । त्यतिबेलाचाहिँ म मरेँ अब भन्ने लागेको थियो । तर हिम्मत हारिनँ । पानी नखान कोशिस गरिरहेँ । हातखुटटा बेस्सरी चलाईँरहेँ पौडीको स्टाईलमा । एकप्रकारले पानी मुनी म बाकटे हान्दै थिएँ । त्यसैले होला एकछिनमा मलाईँ घागीले धकेलेछ तलतिर तर पानी मुनिमुनि । पानी मुनिमुनि बगेँ म तलतिर । पौडेर पानीको सतहमा आउँन खोज्छु हुदैँनहुने । पानीको बहाव नै त्यस्तै रहेछ । करिब ५० मिटर जति तल पो म फुत्थ पानीको सतहमा निक्लिएँ । त्यसपछि झ्यामकिझ्याम बाकटे हानेर पारी छेउमा निस्केँ । केही बेर बालुवामा उत्तानो परेर ढलेँ । डुङ्गा अझै त्यही घागीमा अल्झिरहेको रहेछ । पछि थाहा भयो । मेरो गाईड त मभन्दा अगाडि नै डुङ्गाबाट उछिटिसकेको रहेछ । मभन्दा अघि नै पानीमा खसेर पनि बाहिर निक्लिसकेको रहेछ । पानीमा पानी खाँदै अल्झेर बस्ने त म मात्रै पो रहेछु । गाईड त माथि डुङ्गा पो निकाल्न खोज्दै रहेछ । अलिअलि हाँसो पनि उठ्यो । 

गाईडले कसोकसो अल्झेको डुङ्गा पनि घागीबाट निकाल्यो । माथिबाट साथीहरू आए डुङ्गामा । अनि चढेर फेरि तलतिर लागेँ । केही साथीहरूलाई त म हरायो जस्तो लागेको थियो रे । अनि मेरो हिम्मत र बाकटे हानेको देख्दा अति अचम्ममा पनि परेछन् । साथीहरूले त मलाईँ पनि स्वीमिङ्ग सिकाईदिन पो भन्न थाले भन्या । यसरी त्रिशुलीको पानीमा मज्जाले डुबुल्की मारियो । त्यहाँबाट करिब आधा घण्टा जति तलतिर रयाटिङ्ग गरेपछि हाम्रो यात्रा सकियो । हामी काठमाण्डौतिर लाग्यौँ । बेलुका ७ बजे घर आईपुग्यौँ । धमिलो पानी खाएकोले बिरामी पो परिने हो कि भन्ने लागेको थियो । तर बिरामी परिएन । शरीर बलियै रहेछ भनेर खुशी लाग्यो । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top