तानसेनदेखि फोक्सिन्टारसम्म : एउटा खबर, एउटा बिछोड, एउटा यात्रा

वि.स.२०८१ सालको चैत्र महिना । तानसेनमा गर्मी ठीकठीकै । बुटवललगायत तराइतिर उधुम गर्मी । बिहान ११ बजे तानसेनबाट मिनिबस चढेर बुटवलतर्फ झरेँ । तानसेनको गैरागाउँमा म सपरिवार बस्छु । यो यात्रा अलिक असहज र हतारिएको । मानसिकरुपमा अलिक विक्षिप्त । कारणचाहिँ उता घरमा आपा सिकिस्त बिरामी । लामो समयदेखि आपा थलिएर घरमा छोछयान परेर बसेको । हिडडुल गर्न नसक्ने । आफै दिशापिसाब गर्न नसक्ने । यो पटक आपालाई निकै गारो भयो । आपाको शरीर थप कमजोर भयो । करिब १ हप्तादेखि खाना बन्द भयो । सायद निको हुन्छ कि भनेर म हिजोअस्ति नै गाउँ नगएको हो । त्रि.विमा MPhil-PhD अध्ययन गर्न प्रवेश परीक्षा दिएर ४ दिन अगाडि मात्र यता आएको । तर हिजो बेलुकातिर फेरि आमा र नानाभेनासँग कुरा गर्दा आपा निकै नै सारो भएको भन्ने कुरा भयो । त्यसकारण म आज नै गाउँ जाने निधो गरेँ । पकु नाना पनि जाने कुरो भयो ।

नाना काठमाण्डौबाट गाडीमा सिट बुक गरेर नारायणगड हुदै आउने र म यताबाट जाने । नारायणगडमा भेट भएर जाने कुरा भयो । सोहीअनुसार म तानसेनबाट प्रस्थान गरेको हो । बेलुका १० बजेतिर नारायणगडमा भेट हुने अनुमान गरेर म यताबाट हिडेँ ।

दिउँसो करिब १ बजेतिर बुटवल पुगेँ । बुटवलको माथिल्लो चोकनेर तेल हालेर गाडी केही अगाडि मात्र बढेको थियो । ठूलो भेनाको फोन आयो गाउँबाट । फोन आउनसाथ शंका लाग्यो । कतै नराम्रो समाचार त छैन भन्ने भयो । मुटु चिसो भयो । फोन उठाएँ ।

“भाइ कहाँ आइपुग्नुभयो ?” भेनाले सोध्नुभयो ।

“म बुटवल आइपुगेँ भेना ।” मैले भने ।

“बिस्तारै आउनुहोस् भाइ । आपा जानुभयो । हामीले आपालाई उम्काइयौँ ।”

म निशब्द भएँ केही क्षण । मनमनै प्रभुसँग बोलेँ । प्रभुले मलाइ गर्नुभएको प्रेम सम्झिएँ । आशिष सम्झिएँ । जे भयो धन्यवाद प्रभु । आफूलाई सम्हालेँ । पवित्र आत्माले मलाई सम्हालेको अनुभव गरेँ । एउटा कुरामा म ढुक्क थिएँ कि आपाको आत्माले स्वर्गको यात्रा गरेको छ । आपाले प्रभु येशुलाई आफ्नो मुक्तिदाता भनी स्वीकारेको लामो समय भएको थियो । प्रभुमा प्रार्थना गर्ने, चर्च जाने, सेवा संगतिमा बस्ने गरेको लामो समय भएको थियो । प्रभुसँग जीवन जिएको लामो समय भएको थियो ।

केही क्षणमा तल बुटवल बसपार्कनेर झरेर बसपार्कको पारि अर्को गाडी चढेँ नारायणगड जाने । केही समयपछि गाडी अगाडि बढयो । चालकले बेजोडले गाडी नारायणगडतर्फ दौडाईरह्यो । मनमा नानाथरी कुराहरु खेलिरहे । बेलाबेला प्रभुसँग कुराकानी पनि गरिरहेँ । दाउन्नेमा सामान्य जाम परयो करिब १ घण्टा जति । यो सामान्य नै हो । नत्र त्यहाँ घण्टौ जाम हुने गर्दछ । यहाँ ४ घण्टासम्म जाममा परेको अनुभव छ । त्यस्तो भएको समाचार सुनेको छु । घाम, गर्मी र धुलाले भने बेस्सरी तनाव दियो । नारायणगड बुटवल सडन चौडा पार्ने कामको कारण यो दूरीमा विशेषगरी दाउन्नेमा लामो जाम हुने गर्दछ । जाम सकिएपछि गाडी अगाडि बढयो ।

बेलुका ६ बजेतिर नारायणगड पुल्चोक पुग्यो गाडी । म झरेँ । ATM बाट पैसा निकालेँ । नजीकैको होटलमा खाँना खान छिरेँ । खाना खाएपछि तीनपाँग्रे अटो चढेर आँपटारीतफै लागेँ । सुरुमा भरतपुर बसपार्कमा गएर नानालाई पर्खन्छु भन्ने योजना थियो । तर रात पर्दै जाँदा त्यहाँ मानिसहरु नहोला, राति एक्लै परिएला, असुरक्षित भइएला भन्ने लागेर आँपटारीमा गएर पर्खने भन्ने भयो । आँपटारीमा यात्रु प्रतिक्षालय रहेछ । त्यही बसेँ । वरिपरि प्रशस्त मानिसहरु । सानासाना चियापसलहरु पनि । हाइवेमा पूर्व पश्चिम जाने ठूलाठूला यात्रुवाहक बसहरु बेजोडले आफ्नै सुर र रफतारमा हुइकिरहेका । आँपटारीमा भएको चोकबाट पूर्व र पश्चिम जाने बाटो छुटिटन्छ । पश्चिम जाने बसहरु सिधै अगाडि नारायणगडतर्फ लाग्छ । नारायणी नदीको पुल तरेर नवलपरासी हुनै पश्चिम लाग्छ । पूर्व जाने बसहरु भने बायाँतर्फ मोडिन्छ । अनि भरतपुर बसपार्क हुदै पूर्वतिर लाग्छ ।

आँपटारीमा अलिअलि मच्छड । अलिअलि गर्मी । जंगलको छेउ । गर्मी ठीकठीकै । बाइबल निकालेर धेरै बेर अध्ययन गरेँ । कुन पुस्तक र अध्याय भन्ने त बिर्सेँ । म केही वर्षदेखि दैनिक ५ ओटा अध्यायहरु अध्ययन गर्ने गरेको छु । आजको भाग यही बसाईमा पूरा गरेँ । एक जना सशस्त्रको प्रहरी सर आउनुभयो । उहाँसँग सामान्य गफगाफ पनि भयो । करिब ४ घण्टा पछि मात्र नाना चढेको ‘गुगल’ गाडी आँपटारी आइपुग्यो । गाडी नम्बर थाहा थियो र सहचालकसँग कुराकानी भइरहेको थियो बेलाबेला । गाडि चढेँ । नानालाई भेटेँ । नाना रोएर अनि गाडीले लखतरान परेको रहेछ ।

“आइस् ?” नानाले सोध्यो ।

“अँ आएँ ।” सामान्य कुराकानी मात्र गरयौँ । गाडी अगाडि बढयो ।

प्रभुलाई धन्यवाद, बाटोमा गाडी कतै जाम भएन । भोलिपल्ट बिहानै ६ बजे हामी गाईघाटस्थित त्रियुगा बसपार्कमा गाडीबाट ओर्लियौँ । बसपार्कबाट एक जनाको रु. ३० तिरेर सरासर हामी पिपलचोकितिर लाग्यौँ अटोमा । पिपलचोक पुग्दा ठ्याक्कै ग्रामीण भेग चल्ने ७ बजेको लागि बस लागिरहेको रहेछ । केही सामानहरु किन्यौँ । बस अगाडि बढयो । बरुवा खोला तरेर उकालो जंगलको बाटो, साउने, खाँबुभन्दा माथिको बागखोर, अधेरी खोला शिर, छाम्लिङ, जल्केनी, पोखरी हुदै घुम्ने ठूली नानाको घर पुग्यौँ हामी । घरमाथि रोडमा झर्नसाथ पकु नाना रोएर ब्याकुल भयो । खुटटा टेक्न नै नसक्ने भयो नाना । मचाहिँ आफूलाई सम्हालिरहेको थिएँ यता बुटवलदेखि नै । प्रभुसँग प्रार्थना गरिरहेको थिएँ । उहाँलाई सम्झिरहेको थिएँ । पकु नाना रोएर बेहाल भएको बेला तल घरबाट कोही पनि लिन नआएकोले रिस पनि उठयो । मैले नाना र मेरो झोला अनि अरु सामानहरु बोकेकोले केही गर्न सकिँन । यतिकैमा चुर्सु नानाको छोरा विज्ञान भानिज आयो । उसैले नानालाई समातेर तल घरसम्म झारयो ।

घरमा दाजुभाइहरु, नलनाता, विश्वासीजनहरु अगाडि नै आएर बसिरहेका रहेछन् । वास्तवमा हिजोदेखि नै आएर सहयोग गरिरहेको रहेछन् । कोही काठको कफन बाकस बनाउदै थिए । भित्र आपाको शरीर भुइँमा कोल्टो परेर रहेको रहेछ । यसो हेरेँ । अनुहार उज्यालो । हल्का पहेँलो ।  शरीर चिसो । भक्कानो छुटेर आयो । एकछिन रोएँ । सम्हालेँ आफैलाई । प्रभुसँग प्रार्थना गरेँ । नयाँ कपडा थिएन । त्यसैले मेरो नयाँनयाँ नै भएको सट आपाको शरीरमा लगाइदिए नरेन्द्र भाइ र म भएर । आपालाई शरीरमा अति गारो थियो । प्रभुसँग स्वर्गमा शान्तिमा बसेको देख्दा खुशी पनि लाग्यो । त्यसकारण किन रुने । रुनु पर्दैन । रुनु हुदैन भन्ने लाग्यो । आफैलाई साम्हालेँ । साइला भाइ, नरेन्द्र भाइ, आगिटारको नन्दे कुमार दाइको छोरो (भतिज), कटहरेको राजकुमार भतिज लगायत थुप्रैले कफन बाकस तयार गरिरहेको रहेछ ।

छोटो सेवापश्चात् आपाको शरीरलाई बाकसमा राखेर फोक्सिन्टारको तलको बारीमा राख्नको लागि लग्यौँ । बाटोमा साइला भाइ, नरेन्द्र भाइलगायत अरुले नै बाकसलाई बोकेर लानमा सहयोग गरे । मैलेचाहिँ केही समयमात्र बोक्न परयो । भाइहरुले नै बोकिहाले । उता राजन दाइ र अरुहरुचाहिँ अघि नै गएर खाडल खन्दै रहेछ । हामी पुग्दा खाडल खनिसकेको रहेछ । पास्टर नारदले मृत्यृसँस्कारको सेवा गर्नुभयो । त्यसपछि आपाको मृत शरीरलाई माटोमुनि राख्यौँ ।

सबैजना फर्केर वर तीलबारीमा आइ बिस्कुट, चाउचाउ र डिउ खाजा खायौँ । त्यहाँ धेरै बिस्कुटहरु पनि थिए । गाउले, ईस्टमित्रहरुले सहयोग गरेको भन्ने पछि थाहा पाएँ । माथि बडडाँडाँको एक जना प्रभुको जनले  रु. १००० पनि दिनुभएको रहेछ सहयोग । भेनाद्वारा दिनुभएको रहेछ । धन्यवाद भनेँ ।

यसपछि केही दिनसम्म घरमा बेलेुका बेलुका सेवासंगति भयो । तीन दिनपछि यता त्रि.वि.मा मेरो MPhil-PhD को भर्नाको लागि अन्तरवार्ता हुने भएकोले म बिहानै काठमाण्डौ जान गाईघाटतर्फ लागेँ । भोलिपल्ट अन्तरवार्ता थियो । म अघिल्लो दिन गाउँबाट हिडेँ । गाईघाट आएर बसको टिकट काटेर काठमाण्डौतर्फ लागेँ । बसको सिट सारै झुर । पछाडिको भन्दा केही अगाडिको सिटमा बसेँ । बल्लबल्ल काठमाण्डौ आइपुगेँ । काठमाण्डौँ आएर नुवाइधुवाइ गरी पकु भेनाले पकाईदिनुभएको खानासाना खाएर त्रि.वि. तिर लागेँ ।

रातभर झुर सिटमा बसेर गरेको यात्राको कारण शरीर थाकेर लखतरान परेको थियो । आवाज नै राम्रोसँग आइरहेको थिएन । आवाज भासिएको थियो । थाकेको र भोक लागेको बेला आवाज भासिने त पहिलेदेखिकै समस्या हो मेरो । जसोतसो अन्तर्वार्ता दिएँ । सरहरुले सोधेको बेला थोकेको र भासिएको आवाजमा जवाफ दिएँ । अन्तर्वार्ता सकेर घर गएर आराम गरेँ । अन्तरवार्तासँग खासै सन्तुष्ट हुन सकिँन । त्यही दिनको रात्रीबसमा तानसेनतर्फ अर्को यात्रा गरेँ । भोलिपल्ट तानसेन पुगेँ । परिवारसँग भेट भयो । कुराकानी भयो । नुवाइधुवाइ गरेर मज्जाले बेडमा पल्टिएँ ।

यसो सोेचेँ जीवन यात्रा हो । कसैको यात्रा संसारकै एक कुनाबाट अर्को कुनामा । कसैको यात्रा संसारबाट स्वर्गसम्म । कसैको यात्रा संसारबाट नर्कसम्म । प्रभुको कृपा, सुरक्षा र आशिषको निम्ति धन्यवाद भन्दै म निदाएँ दिउसैँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top