मिति २०८२ साल श्रावण २५, तदानुुसार अगष्ट १०, २०२५ को बिहान १० बजेतिर तानसेन बसपार्कबाट बुटवलतर्फ लागेँ सुरखेतको लागि । करिब १२ बजेतिर बुटवल झरियो । बुटवलको तातोले एकछिन तनाव दियो । सुरखेतको रात्रीबसको टिकट लिएँ । रू. १८०० । बसपार्क र बुटवल वरिपरि घुमेर समय कटाएँ । बसपार्ककै एक छेउको सानो दोकानको बस्ने ठाउँमा भने निकै लामो समयसम्म बसियो समय कटाउन । बेलुका ६ बजेतिर बस सुरखेतको लागि हिड्न तयार भयो । सिटमा बसिरहेको बेला ठीक अगाडिको सिटमा सुरखेतकै पुरानो साथी बसन्त बस्नेतलाई अचानक भेटदा दुबै जना बढो उत्साहित भइयो । केही बेरको उत्साहपूर्ण वार्तालापको साथमा बस पनि अगाडि बढ्यो । हाम्रो वार्तालाप निरन्तर नै रह्यो बीचबीचमा पनि ।
रातको ११ बजेतिर खै कुन ठाउँमा हो खाना खानको लागि बस रोक्यो । बसन्त जीले खाना खानुभयो । मैले होटल नजीकैको अर्को पसलमा सामान्य खाजा खाएँ । खानापछि बसले धेरै पर …बस बिसायो करिब बिहानको ३ बजेतिर । चिया खानो कार्यक्रम भयो त्यहाँ अरुहरुको । मैले केही खाइँन । त्यसपछि हामी महेन्द्र राजमार्ग छोडेर सुरखेततिर मोडियौँ । बिहानको करिब ६ बजेतिर हामी सुरखेत बसपार्कमा पुग्यौँ । बसपार्कबाट म नजीकैको होटलमा चियानास्ताको लागि पसेँ । बसन्त जी आफ्नो बासस्थानतिर लाग्नुभयो । चियानास्ता खाएपछि म मध्यपश्चिम विश्वविधालयको मानविकि तथा सामाजिक शास्त्र अध्ययन हुने भवन तथा प्रशासनिक भवनतिर लागेँ । स्थान नभेटेर निकै बेर तल र माथि गरेँ । आखिरीमा रोडकै नजिक अलिक पर रहेछ । बैंकको काम सकेर चारित्रिक प्रमाण पत्रको लागि डकुमेन्ट बुझाउने काम पनि भयो । त्यसपछि प्रमाण पत्र र ट्रान्सक्रिप्टको लागि करिब १ किलोमिटर माथि रहेको परीषा व्यवस्थापन शाखाको भवनतिर हिडदै लागेँ । ठयाक्कै भवन नभेटेर त्यहाँ पनि एक फनको मार्ने काम भयो । अन्तमा भेटियो । प्रक्रिया बुझेँ । क्यास पैसा नभएकोले पर पृथ्वी चोकतिर अटोमा हतारहतार गएँ । खाना पनि खाएँ त्यतै । पैसा अपुग भएकोले श्रीमतीलाई खातामा हालिदिन भनेँ । श्रीमतीको खातामा पनि रकम कम भएकोले छोरीको खाताबाट कोशिस गरियो । त्यताबाट पनि प्राविधि समस्या भएपछि श्रीमतीले कसोकसो मिलाउनुभयो । यसरी बेलाबेला पैसाको समस्या हुँदा नरमाइलो पनि लाग्यो । जीवनमा यस्ता समस्याहरु धेरै पटक अनुभव गरेको छु । मेरा हरेक समस्या र चुनौतिहरूमा बढो ज्ञानी र विवेकशील भएर भौतिक तथा भावनात्मक सहयोग गर्ने श्रीमतीप्रति धेरै पटक आभारी भएको छु । यो पटक पनि फेरि आभार प्रकट । प्रभुप्रति धन्यवादी बनेँ यसरी जुटाउने काम गर्नुभएकोमा ।
ए.टी.एम.बाट पैसा निकालेँ । नजीकैको होटलमा खाना खाएँ । अटोँबाट परीक्षा व्यवस्थापन भवनतिर लागेँ । पैसा तिर्न भने पहिलाकै बैंकमा जानुपर्ने रहेछ । तनाव भयो । यस्ते जानेको भए म बिहानै चारिक्रिक प्रमाणपत्रको लागि तिर्दा संगै तिर्थे नि भन्ने भयो । बिहान सुरक्षा गार्डलाई सोधेको पनि थिएँ । उसले माथि नै छ बैंक भनेको थियो । हतारहतार अटोमा तल रहेको बैँकतर्फ दगुरेँ । यतिबेलासम्म दिउँसोको १ बज्न लागिसेकेको रहेछ । यो समय भनेको बैंकको कर्मचारीको खाना खाने समय रहेछ । सुरक्षा गार्डले मलाई मात्र भनेर अन्तिममा छिर्न दिए भित्र । हतारहतार भौचर भरेर पैसा तिरेँ । माथि शाखातिर फेरि दौडिएँ अटोमा । निवेदन पेश गरियो । आजको भोलि नै कुनै पनि डकुमेन्ट प्राप्त नहुने भयो । नेपाल आर्मीमा सेवारत फिलेमोन भाइ सुरखेतमै भएकोले सजिलो भयो । फिलेमोनसँग हिजो बेुलका नै कुरा भएको थियो म सुरखेत आउदै गरेको र भेटने कुरा । फिलेमोनलाई बोलाएँ । केही समयमा भाइ आइपुग्यो । फिलेमोनले डकुमेन्ट बुझ्ने र कुरिएर गरेर काठमाण्डौ पठाइदिने कुरो भयो । त्यहाँको सामान्य प्रक्रियाहरु र डकुमेन्टहरु फिलेमोनलाई दिएँ । ट्रान्सक्रिप्ट नबनाई चारित्रिक प्रमाणपत्रको लागि निवेदन पेश गर्न नमिल्ने भएकोले फिलेमोनले नै त्यो पनि गरिदिने भयो । पछि यी सबै काम पनि गर्दियो भाइले । भाइको कार्य व्यस्तताले गर्दा चारित्रिक प्रमाण पत्र लिने र काठमाण्डौतर्फ बुद्घ एअरको कुरिएरबाट पठाउने काम भने साथी बसन्तले गर्दियो ।
फिलेमोन भाइ र म दुबै जना अटोमा बुलबुले ताल घुम्न जाने कुरा भयो । त्यहाँबाट नजीकै रहेको बुलबुले ताल करिब एक घण्टा घुम्यौँ । कुराकानी गरियो । फोटो खिचियो । फर्केर आउँदा होटलमा मम खायौँ । ममको पैसा फिलेमोन भाइले नै तिरयो । पहिला तालतर्फ जानेबेला पनि उसैले जुस र चिप्स किनेको थियो । त्यसपछि म बसपार्कतिर लागेँ र फिलेमोन भाइ ब्यारेकतिर लाग्यो । यतिबेला करिब ३ जति बजेको थियो । बसपार्कमा करिब ३ घण्टा बसेपछि बस बुटवलतर्फ लाग्यो ।
हिडन थालेपछि केही समय आकाशबाट पानी परयो । बाटो हिलाम्मे भयो । बसले बिस्तारै सुरखेत छोडयो । करिब १ घण्टाको यात्रापछि हामी भेरी नदीनेर आएछौँ । बस भेरी नदीको पुलमाथि आफ्नै रफ्तारमा दगु¥यो । त्यसपछि भेरी नदीलाई दायाँ पारेर बस निकै बेरसम्म किनारैकिनार दगु¥यो । हामी बाँके कोहलपुरतर्फ लाग्यौँ । भेरी नदी आइपुग्नभन्दा अगाडि हो पछाडि छिन्चु भन्ने ठाउँ रहेछ । सानोसानो बजार रहेछ । अलिक युनिक लाग्यो ठाउँको नाम छिन्चु । त्यसपछि म भुसुक्कै निदाएँछु । बिहान करिब ३ बजेतिर नै बस बुटवलको बसपार्कको पारी रोकेछ । निदाईरहेको बेला नै बस कण्डक्टरले “बुटवल बसपार्क बसपार्क…” भनेको सुनेँ । झसङ्ग भयो । अचानक निद्राले छोडयो । बस बुटवल बसपार्कसम्म मात्र होला भनेर चढेको म । तर होइन रहेछ । बस त पूर्वतिर पो जाने रहेछ । धन्न म सुतेकोसुतेकै भइनँ । नत्र म अर्कै ठाउँमा पुग्ने थिएँ । म चलाख त चलाखै हो । हतारहतार बसबाट ओर्लिएँ । चारैतर्फ चकमन्न । अन्धकार । केहीकेही बाईक र मालबाहक ट्रकहरुमात्र हिडिरहेको । एक्लै हिडदै पाल्पाको गाडी लाग्ने ठाउँतिर लागेँ । पुगेर बसिरहेको थिएँ कुनै गाडी कतिबेला आउला भनेर । यतिकैमा एक जना मोटो दाइ बाइकको पछाडि बसेर आयो । उहाँ पोखरा जाने रहेछ । कुराकानी भयो । उहाँ खै केको पो हो बिजनेस गर्ने रहेछ । बिजनेसकै कामको लागि पोखरा जान लागेको रहेछ । केही छिनमा अर्को ब्रो पनि आउनुभयो । सबै जनाको सामान्य परिचय र कुराकानी हुदैँ थियो । एउटा कार आयो जाने हो भन्दै बोलायो । त्यो मोटे दाइले ऊ पोखरा जाने र म तानसेनसम्म जाने भनेपछि कारले लाने कुरा भयो । भाडा मिलाएर दिनुुस न भने गुरुजीले । हामी चढयौँ । कार अगाडि बढयो । कारको गुरुजी मगर वा गुरुङ हुनुपर्छ । इमान्दार र सोझो रहेछ बुढा । त्यो कारचाहिँ हिजो बेलुका एक जना म्याडमलाई भैरहवा कि बुटवलसम्म छोडन आएको रहेछ । फर्कँदा खर्च हुने भयो भनेर तेलको पैसा उठाउन भए पनि यात्रु खोज्दै हिडेको रहेछ । मचाहिँ बिहानै कारमा अब भमिट आउने भो भनेर सामान्य कुराकानी पछि चुपचाप लागेर निदाउँन कोशिस गरेँ । चाँढैँ नै बर्तुङ्ग आईपुगियो करिब ४ बजेतिर । भाढा खै रू. ३०० हो कि ५०० दिएँ कुन्नि ।
अब अर्को तनाव सुरु भयो फेरि । यति बिहानै कसरी गाडी पाउने भनेर । बर्तुङ्गको प्रहरी पोष्ट नजीकै गएँ । कुनै ट्रक आएमा रोकिदिन प्रहरी सरलाई अनुरोध गरेँ । एकैछिनमा एउटा बोलेरो जस्तो गाडि आयो । ५ मिनेट पनि भएको थिएन । प्रहरीले हात दिएर झयाप्पै रोके । मैले पनि हात दिएँ । बढो खुशी लाग्यो । प्रहरीलाई धन्यवाद सर भनेर गाडी चढेँ । त्यो गाडिचाहिँ रिजर्भमा खै बुटवल कि कता पो गएर रित्तै फर्किदै गरेको रहेछ । बढो रमाईलो भयो । यसरी सुरुको दिनदेखि नै सबै यात्राहरु सहज नै भयो । ठयाकठयाक सावारी साधनहरु जुटाईदिनुभएकोमा मेरो प्रभुलाई मनमनै धन्यवाद दिइरहेँ । यो गाडि त झन बसपार्कसम्म मात्र नभएर घर नजीकै तल लालीगुराँस हुदै पो जाने रहेछ । यो त अति अज्जब पो भयो त । बसपार्कबाट हिडन नै परेन । यहाँबाट त थोरै उकालो चढेपछि ठ्याक्ै घरमै आइपुगिने । तानसेन बसपार्क, मेहलधारा हुदैँ लालिगुराँस चोकमा झरे । भाडा सोधेको रु. ५० भन्नुभयो गुरुजीले । रू. ५० गुरुजीको हातमा थमाईदिएँ । रू. १०० नै थमाइदिन मन लागेको थियो तर खुद्रा नै थिएन । म घरतिर लागेँ । घर आइपुग्दा त्यस्तै ५ बजेको हुदोँ हो । श्रीमतीको स्वागतको साथमा नुवाइधुवाइ गरेर आराम गरेँ । सम्पूर्ण यात्राहरु सहज