धर्म प्रचार र धर्म परिवर्तन: भ्रम र वास्तविकता

प्रत्येक नागरिकसँग स्वतन्त्रताको  अधिकार (Right to Freedom) हुन्छ । म जे गर्छु, जे खान्छु, जे पहिरन्छु, जहाँसुकै जान्छु त्यो म मेरो आत्मनिर्णयको आधारमा गर्न सक्छु र गर्न पाउछु । कुनै पनि धर्म अँगाल्ने या नअँगाल्ने काम पनि त्यही हो । यदि म कुनै पनि धर्ममा लाग्छु भने त्यो विल्कुल मेरो व्यक्तिगत स्वतन्त्रताको अधिकार हो । म लाग्न पनि सक्छु र नलाग्न पनि सक्छु । कसैले पनि कुनै पनि कुरा गर या नगर भनेर मलाईँ र हामी सबैलाई बाध्यतामा पार्न सक्दैन—विशेष गरेर धर्मको नाममा । संसारमा करमा पारेर वा बाध्यतामा पारेर कसैले कसैलाई पनि कुनै पनि धर्मको अनुयायी बनाँउदैन, चाहे त्यो हिन्दू धर्म होस् चाहे त्यो इसाईँ धर्म, चाहे इस्लाम धर्म नै किन नहोस् ।

अर्को महत्वपूर्ण विषय हामी सबै नागरिकसँग सूचनाको अधिकार (Right to Information) हुन्छ वा कुनै पनि कुराको बारेमा सुन्ने, जान्ने वा बुझ्ने । हामी सम्पूर्ण नयाँ कुरा जान्न चाहन्छौँ , सिक्न चाहन्छौँ तर त्यो सिकेको कुरा, बुझेको कुरा व्यवहारमा लागू गर्ने या नगर्ने हाम्रो स्वतन्त्रता हो वा स्वतन्त्रताको  अधिकार हो ।

मलाईँ यदि कसैले हिन्दू धर्मको बारेमा बताउँछ भने के म अब हिन्दू भइहालेँ  त ? त्यस हिन्दू अनुयायीले मलाईँ धर्म परिवर्तन गराईहाल्यो त ? के उसले मलाई बाध्यतामा पा¥यो ? उसले मलाईँ त्यसो गर्न सक्छ ? अहँ कदापि सक्दैन । तर मलाईँ उसले सुनाउनसक्छ, सिकाउनसक्छ । हिन्दू धर्ममा यस्तो राम्रो कुरा छ, यसले मलाई यसरी फाइदा गर्छ भनेर मलाई बताउनसक्छ किनभने उसले मलाईँ वास्ता गर्छ । त्यसरी नयाँ कुरा सिक्नु, जान्नु भनेको मेरो लागि पनि असल कुरा हो तर त्यसलाई व्यवहारमा लागू गर्ने वा नगर्ने त विशुद्द मेरो निर्णय हो नि । यसकारण यस्तो कुरामा डराउनुपर्ने त केही पनि छैन ।

यसैगरेर यदि कसैले इसाई विश्वासको बारेमा कसैलाई सुनाउँछ भने, बताउँछ भने या बुझाउँछ भने उसले धर्म परिवर्तन गराँउदैन तर जानकारी, सूचना, विषयवस्तु, ज्ञानगुणका कुरा पो सिकाउँछ । फेरि त्यो व्यवहारमा लागू गर्ने वा नगर्ने त सुन्ने मान्छेको स्वतन्त्रताको अधिकार पो त । इसाईँ धर्मसँग गासिएको मुद्दा  धर्म परिवर्तन वा इसार्इँहरूले धर्म परिवर्तन गराँउछ रे । धर्मले कहिले पनि धर्म परिवर्तन गराउँदैन तर व्यक्ति आफैले आफ्नो स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै आफ्नो धर्म आफै परिवर्तन गर्छ । मलाई मन लागेको खाना खान के मलाई अधिकार छैन ? मैले सरकारलाई सोध्नुपर्ने ? म बिरामी पर्छु अब औषधि खान पनि सरकारलाई नै सोध्नुपर्ने ? पर्दैन । त्यो मेरो र सम्पूर्णको आबश्यकता, स्वतन्त्रता र इच्छाको कुरा हो ।

सम्पूर्णले बुझ्ने भाषामा भाषागतरूपमा भन्नुपर्दा ‘धर्म परिवर्तन’ शब्द होइन यो पदावली हो जसको प्रायोगिक (Pragmatic) अर्थ फरक छ । धर्म परिवर्तन भन्नाले जबर्जस्ती, बलपूर्वक, डरत्रास देखाएर वा व्यक्तिको इच्छाविपरित धर्म मान्न बाध्य गराउने काम भन्ने हुन्छ । अब भन्नुहोस् कुन इसाईले कहिले, कहाँ, कसरी र कसलाई यसरी धर्म मान्न बाध्य गरायो ? छ उदाहरण ? छैन । छैन भने कसरी इसाईहरूले धर्म परिवर्तन गराउँछ त । वाहियात् । तर इसार्इँहरूले त धर्म प्रचार पो गर्छन् । यसरी प्रचार गर्नु गलत हो ? छिमेकीलाई प्रेम गर , आफूसँग भएका कुराहरू अभावमा भएकाहरूसँग बाँडचुड गर, झगडा नगर, हत्या नगर, चोरी नगर, साहसी बन, उधमी बन…आदि इत्यादि जस्ता कुराहरू सिक्नु र सिकाउनु के पाप हो ? र यसको उल्टोमा सिक्नु र सिकाउनुचाहिँ पूण्य वा ठीक ? र के हिन्दूले प्रचार गर्दैन ? के बौद्ध धर्मले प्रचार गर्दैन ?

अर्को विषय, कुनै पनि विद्यालयमा इसाई विश्वासको बारेमा बताँउदा, पक्षपात भयो रे । हिन्दू विधार्थीको अपमान भयो रे , अझ त धर्म परिवर्तन गराउने चेष्टा पो भयो रे । अनि कार्वाही गर्नुपर्ने रे, त्यसो हो भने सबभन्दा पहिला मेरो स्कूललाई र त्यहाँ अध्ययन गराइने  पाठ्यक्रम निर्माण गर्नेलाई पनि कार्वाही गर्नुप¥यो सरकार किनभने मेरो स्कूलले मलाई सरस्वतीको प्रार्थना र पूजा गर्न लगायो , महादेवको बारेमा सिक्न लगायो, ढोग्न पनि लगायो जतिबेला म इसाई थिएँ । यदि होइन भने इसाईलाईचाहिँ किन कार्वाही ? स्कूलमा सबै विधार्थीहरू के हिन्दू मात्रै हुन्छन् र ? त्यहाँ इसाई हुदैनन्, ? त्यहाँ बौध धर्मका विधार्थीहरू हुदैनन् ? अबस्य हुन्छन् । हुन्छन् भने सबैलाई हिन्दू धर्मको विषयवस्तु कोच्ने ? त्यसकारणले धर्म परिवर्तन भन्ने पदावलीको गलत बुझाइको आधारमा भन्ने हो भने त धर्म परिवर्तन त सरकारले पो गरेको छ त । लौ खत्तम, परेन त फसाद…

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top